

वीरगन्जमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट’ अभियान

वीरगन्ज – पछिल्लो एक सातामा वीरगन्जमा डेंगुको संक्रमण ह्वात्तै बढेपछि वीरगन्ज महानगरपालिकाले डेंगुको प्रकोप नियन्त्रणका लागि ‘खोज र नष्ट’ अभियान चलाएको छ।
महानगरपालिकाको स्वास्थ्य महाशाखा र सरसफाई शाखाको टोलीले विगत एक सातायतादेखि डेंगु सार्ने लामखुट्टे र त्यसको लार्भाको बासस्थान पहिचान गर्दै त्यसलाई नष्ट पार्न अभियान चलाएको हो।
यसका साथै महानगरपालिकाको टोलीले बाहिरबाट लामो दूरी तय गरेर वीरगन्ज आउने यात्रुवाहक बसभित्र कीटनाशक विषादी ‘बायो डाट’ छर्ने काम शनिबारदेखि सुरु गरेको छ।
अभियान अन्तर्गत महानगरको टोलीले डेंगु सार्ने लामखुट्टे र त्यसको लार्भाको बासस्थान रहने गाडीका पुराना टायर पसल र ग्यारेजहरूमा पुगेर पानी जमेका टायरहरू हटाउने गरेको स्वास्थ्य महाशाखाका सहसंयोजक अनिशकान्त कुशवाहाले बताए।
त्यसक्रममा शनिबार बिहान सम्म विभिन्न स्थानका टायर पसल र ग्यारेजमा गरि ५ सय ७३ वटा पुराना टायरमा जमेको पानीमा डेंगु सार्ने लामखुट्टे र त्यसको लार्भा भेटिएको कुशवाहाले जानकारी दिए।
डेंगु सार्ने लामखुट्टे र त्यसको लार्भाको बासस्थान भएका जोखिमपूर्ण क्षेत्र (टायर पसल,ग्यारेज, सरकारी कार्यालय, बाहिरबाट आउने यात्रुवाहक बस , घरका पानीट्यांकी , गमला इत्यादि) मा पुगेर डेंगु सार्ने लामखुट्टे र त्यसको लार्भा मार्ने ‘बायोडाट’ नामक विषादी छर्कने काम भइरहेको उनले बताए।

