विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवाको प्रस्ताव मन्त्रिपरिषदमा पेस गरिने


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध मन्त्रिपरिषदमा पेस गरिने भएको छ।

गृह मन्त्रालयले उक्त प्रतिबन्ध फुकुवाको प्रस्ताव सोमबार वा मंगलबार हुने मन्त्रिपरिषदको बैठकमा पेस गर्न लागेको हो। वार्ताका लागि उक्त समूह सकारात्मक भएको जानकारी विप्लवले नै दिएपछि प्रस्ताव तयार पारिएको स्रोतले जनाएको छ।

प्रतिबन्ध फुकुवा गरेपछि उक्त समूहसँग सरकारले वार्ताका लागि समिति गठन गर्नेछ। सोही मन्त्रिपरिषदले वार्ता समिति गठन गर्छ या गर्दैन भन्नेचाहिँ अहिलेसम्म टुंगो नलागेको स्रोतले बतायो।

सरकारले विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने तयारी अनुसार विभिन्न माध्यमबाट अनौपचारिक संवादलाई कायम राखेको थियो। उक्त संवादका लागि सरकारका तर्फबाट खानेपानी मन्त्री मणि थापा सक्रिय रहेका थिए।

सरकारका तर्फबाट विप्लव समूहका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीसँग निरन्तर संवाद चलिरहेको थियो। सोहीबीचमा विप्लवले विज्ञप्ति जारी गर्दै वार्ताका लागि सकारात्मक रहेको जनाएका थिए। प्रधानमन्त्री ओली सोमबार कञ्चनपुरको कार्यक्रममा जाने भएका कारण मन्त्रिपरिषद बस्ने सम्भावना कम छ। उक्त प्रस्ताव मंगलबारको बैठकमा पेस हुन सक्ने बताइन्छ।

प्रतिक्रिया