
नवजात शिशु अस्पतालबाटै गायब, प्रेमी र डाक्टर पक्राउ
काठमाडाैं – विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा प्रसूति गराउन भर्ना भएकी एक युवतीले सकुशल शिशुलाई जन्माएकी थिइन् । तर, उनको नवजात शिशु अस्पतालबाटै बेपत्ता भएको पाइएकाे छ ।
अवैध यौन सम्पर्कबाट गर्भ रहेर जन्मिएको शिशु प्रेमि र डाक्टरको मिलेमतोमा गायब गरिएको भन्दै त्यी युवतीले प्रहरीसमक्ष किटानी जाहेरी दिएकी छन् । उनले साउन ३२ गते जाहेरी दिएपछि प्रहरीले प्रसूति गराउन ल्याउने प्रेमि भोजपुर हतुवागढीका गोविन्द राई र उपचारमा संलग्न डाक्टर तपेश्वरलाल कर्णलाई पक्राउ गरेको छ ।
डाक्टर कर्ण भने बिरामी भएर अस्पताल भर्ना भएका कारण थप विवरण आइ नसकेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए ।
राई भने २६ वर्षीय ती किशोरीका प्रेमी हुन् । असार १३ गते किशोरीले ग्रीनक्रस हस्पिटलमा नवजात शिशु (छोरी)लाई जन्म दिएकी थिइन् । उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
किशोरीका प्रेमी गोविन्दले ३५ हजार रुपैयाँ दिएर प्रसूति गराएका थिए । उनीहरुबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले लिएको बताइएको छ । तर, गोविन्दको बयान लिएको प्रहरीले डाक्टर कर्णको भने बयान लिन सकेको छैन ।
प्रहरीलाई गोविन्दले आफूले शिशु नलिएको बयान दिएका छन् । अस्पताल प्रशासनले भने अभिभावकलाई नै बच्चा जिम्मा लगाएको जनाएको छ । पक्राउ परेका चिकित्सक र गोविन्दविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।



कागजपत्र |
