

प्रजातन्त्र दिवसमा झण्डोत्तोलन

चितवन – प्रजातन्त्र दिवसका अवसरमा आज झण्डोत्तोलन गरिएको छ । भरतपुर महानगरपालिका–२ आँपटारी चोकमा नेपालको नयाँ झण्डा राखी झण्डोत्तोलन समेत गरिएको हो ।
प्रजातन्त्र दिवस जिल्ला समारोह समिति चितवनको आयोजनामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई र भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्त रुपमा झण्डोत्तोलन गरेका थिए ।
भरतपुरको मुख्य बजार र सरकारी कार्यालय क्षेत्र प्रवेश गर्ने र बाहिरिने महत्वपूर्ण यस ठाउँमा झण्डा राखिएको हो । यहाँबाट पवित्र तीर्थस्थल देवघाट पनि प्रवेश गर्न सकिन्छ । सडकको बीचमा बनाइएको गोलो भागमा झण्डा राखिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टराईले प्रजातन्त्रको दिवसको महत्वका विषयमा प्रकाश पार्नुभएको थियो । सो ठाउँलाई थप सुन्दर बनाइँदै छ । नारायणगढ मुग्लिन सडकखण्डको विस्तारका क्रममा आँपटारीमा सडकको बिचमा गोलो ठाउँ छाडिएको थियो । सोही ठाउँमा राष्ट्रिय झण्डा राखिएको हो ।
नेपालमा प्रजातन्त्र दिवस विसं २००७ को क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहाँनीया राणा शासन अत्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते मनाइन्छ । यस्तै भरतपुर अस्पतालमा रहेका बिरामीलाई फलफूल एवं जुस वितरण गरिएको छ भने सहयोगापेक्षी सडक मानवको अभिभावक मानव सेवा आश्रममा आश्रित व्यक्तिलाई खाना खुवाई राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ ।

