

चितवनमा डेंगुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

भरतपुर – डेंगुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान शुरु गरेको छ।
पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न आइतबारदेखि घरदैलो अभियान शुरु गरिएको हो। नगरप्रमुख शशिकुमार खनियाँ, उपप्रमुख कविता उप्रेतीलगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र स्थानीयवासी अभियानमा सहभागी थिए।
पहिलो दिन नगरपालिकाको वडा नम्बर ६ र ८ मा अभियान सञ्चालन गरिएको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख निर्मल घिमिरेले बताए। उनले बजार क्षेत्रमा अभियान सञ्चालन गरिएको जनाउँदै सबै वडामा यो अभियान सञ्चालन हुने जानकारी दिए। डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउन समुदायमा पुगेर सचेतना जगाउने काम गरिएको उनको भनाइ छ। ‘नगरपालिकाका विभिन्न क्षेत्र लामखुट्टेको लार्भा बनाउन उपयुक्त वातावरण छन्’, उनले भने, ‘तीव्र शहरीकरणका कारण पानी जम्ने ठाउँसमेत प्रशस्तै छन्।’
चितवनकै रत्ननगर नगरपालिकाले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको सङ्क्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै सबै नगरवासीमा सतर्कता अपनाउन आग्रह गरेको छ। नगरपालिकाले लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गर्ने अभियानमा सहभागी हुन सबै टोलवासीमा अनुरोध गरेको छ।
रत्ननगर नगरपालिकाले लामखुट्टेको बासस्थान र लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरू गरेको जानकारी दिँदै जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले एडिज जातको लामखुट्टे सफा पानीमा बस्ने, त्यहीँ फुल पार्ने र लार्भा वृद्धि गर्ने भएकाले घर वरपर रहेका टिनका डब्बा, थोत्रा टायर, गमला, फुलदानीलगायतमा पानी जम्न नदिन आग्रह गरे। उनले १६ वटै वडाका स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्यसेविका एवं टोल विकास समितिका अध्यक्षहरुलाई डेंगु रोगबारे सचेतना फैलाउन आग्रह गरे।
विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यो लामखुट्टे फूल पार्छ। विशेष गरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण फैलिन्छ।
उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन्। जटिल प्रकृतिको डेंगुको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्छन्।

