‘राम्रा चिकित्सकलाई काम गर्ने वातावरण छैन’


जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारको गलत नीतिको कारण राम्रा चिकित्सकलाई काम गर्ने वातावरण नरहेको बताएका छन् ।

बुधबार जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले एमडी र एमएसको अध्ययन गर्न ३५/४० वर्ष उमेर कटेपनि काम गर्ने वातावरण नरहेको बताए। दरबन्दी नरहेको र रहेपनि राख्ने प्रक्रिया, स्थायी गर्नुपर्ने प्रक्रिया झनझटिलो रहेको उनले बताए।

मुख्यमन्त्री राउतले चिकित्सकलाई काम गर्ने वातावरण बनाउनको लागि कम्तिमा डेढ लाख तलब गर्नुपर्ने बताए।

उनले भने, ‘चिकित्सकलाई व्यवस्थित गर्न कानुन नै बनाउनु पर्छ। चिकित्सकको कम्तिमा डेढ लाख ज्याला र उनीहरुको सन्तानको लागि शिक्षाको व्यवस्था गर्नुपर्छ।’

आफ्नो ब्याचमा टप गरेर यहाँ आउँदा पनि चिकित्सकले मौका नपाएको उनले दावी गरे।  राम्रोसँग अध्ययन गरेर आफ्नो गाउँठाउँमा काम गर्न चाहेपनि चिकित्सकहरुले त्यस अनुसारको वातावरण नपाएको बताउँदै मुख्यमन्त्री राउतले त्यसको व्यवस्था गर्नुपर्ने बताए।

प्रतिष्ठानको कार्यालयको उदघाटनसँगै प्रदेश २ ले स्वास्थ्यको क्षेत्रमा ठूलो खुड्किलो पार गरेको भन्दै मुख्यमन्त्री राउतले खुसी व्यक्त गरेका छन्। उनले प्रदेश २ स्वास्थ्यको सूचकांकमा सातै प्रदेशमध्ये सबैभन्दा पुछारमा रहेको समयमा प्रतिष्ठानको स्थापनाले यसलाई उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

प्रतिष्ठानको कार्यालय उदघाटन कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साहले आज प्रदेशवासीका लागि ठूलो सपना पूरा भएको बताए। उनले यस प्रतिष्ठानको स्थापनाले प्रदेशका अस्पतालहरुमा हुने चिकित्सक अभाव, एकै ठाउँमा सबै प्रकारका रोगहरुको उपचार नहुनु लगायतको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताए।

गत माघ १८ गते सामाजिक विकास मन्त्री नवल किशोर साहको सिफारिसमा मुख्यमन्त्री राउतले प्रतिष्ठानको उपकुलपतिमा डा. रामकेवल साह, रेक्टरमा डा.अन्कुर साह र राजिष्ट्रारमा डा.विनोद यादवलाई नियुक्त गरेका थिए।

प्रतिक्रिया