कोशी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र सुवेदीको इजलासमा
काठमाडौं – कोशी प्रदेश सरकारको वैधानिकतामाथि सर्वोच्च अदालतमा आज देखी बहस सुरु हुने भएको छ । कोशी सरकार गठन असंवैधानिक भन्दै पूर्वमुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आज देखी न्यायाधीशद्धय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा बहस हुने भएको हो ।
कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेका थिए । जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेश गरे पछि आज देखी कोशी सरकारको बैधानिकतामा बहस सुरु हुन लागेको हो ।
बहुमत नपुगेपछि सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरे पछि एमाले त्यसबिरुद्ध सर्वोच्च गएको थियो ।
निष्पक्ष रहनु पर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंबैधानिक भन्दै खारेजीको माग एमालेको राखेको छ । जसमा आजबाट दुवै पक्षले आ-आफनो तर्फबाट बहस गर्नेछन् ।