

इटहरीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरीमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी छन् ।
कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार राति इटहरीको कान्छी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल र पिकअप ठोक्किएर दुर्घटना भएको थियो ।
पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्ल्यु बी ७३ इ ९११७ को पिकअप भ्यानसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चार जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा तीनजनाको मृत्यु भएको हो । दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् ।

