


मोटरसाइकल चोरेर भारत लैजाँदै गर्दा मोरङबाट पक्राउ

विराटनगर – सुनसरीको धरानबाट मोटरसाइकल चोरी गरेर भारततर्फ लैजाँदै गर्दा मोटरसाइकलसहित बुधबार बिहान मोरङमा एक जना पक्राउ परेका छन् । कोसी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका-२ टंकी चोकबाट प्रहरीले मोटरसाइकलसहित चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको हो । पर्नेमा धरान उपमहानगरपालिका-८ का २१ वर्षीय सुमन विक रहेका छन् ।
लोकमार्गमा चेकजाँचका लागि खटिएको इलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी नायव निरीक्षक (सइ) उज्वल शाक्य नेतृत्वको टोलीले चोरी गरेको मोटरसाइकलसहित बिहान १० बजेतिर उनलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा ८६ प ६०८ नम्बरको २ सय सीसीको एनएस मोटरसाइकल शंका लागेपछि चेकजाँचका लागि प्रहरीले रोकेको थियो । मोटसाइकल चालक विकको साथमा ब्लुबुक फेला परेन । नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उनले मोटरसाइकल चोरी गरेको पत्ता लागेको दाहालले बताए ।
उनका अनुसार धरानबाट चोरी गरेको मोटरसाइकल भारत लैजाँदै गर्दा प्रहरीले फेला पारेको हो । धरान-७ का सुजन राईले घरमै पार्किङ गरेर राखेको मोटरसाइकल बिहान २:३० बजेतिर चोरी भएको थियो । पक्राउ परेका विकको साथबाट प्रहरीले आई फोन सेभेन मोबाइल पनि बरामद गरेको छ ।
उक्त मोबाइल मोटरसाइकल धनी राईकै रहेको पत्ता लागेको प्रहरीले जनाएको छ । राईको घरबाटै चोरी गरेको मोटरसाइकल र मोबाइल बिक्रीका लागि भारततर्फ लिएर जाँदै गर्दा विक प्रहरीको फन्दामा परेका हुन् ।
पक्राउ परेका विकलाई साथबाट बरामद भएको मोटरसाइकल र मोबाइलसहित आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानको जिम्मा लगाइएको डीएसपी दाहालले बताए ।

