


ललितपुरको लेलेमा करेन्ट लागेर एकको मृत्यु

काठमाडौँ – ललितपुरको गोदावरी नगरपालिका,लेलेको भञ्जाङ सौराहामा हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान बाटोमा हिँड्दै गरेका ललितपुर गोदावरी नगरपालिका वडा नम्बर पाँच लेले भञ्जाङ महादेव खोलाका स्थानीय राजु तामाङको हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
२६ वर्षीय तामाङ बिहान पाँच बजे बाटोमा हिँड्दै गर्दा एक्कासी तार चुँडिएको स्थानीयको भनाई छ । विद्युत् प्राधिकरणले उक्त क्षेत्रमा रहेको ११ हजार भोल्टेजको हाइटेन्सन लाइनलाई व्यवस्थित नगर्दा मानवीय क्षति भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।
विद्युत् प्राधिकरण ललितपुर शाखामा पटक पटक हाइटेन्सन लाइन व्यवस्थित गर्न तथा रुख कटानका लागि स्थानीयले आग्रह गर्दा व्यस्तता गरेको कारण घटना घटेको स्थानीय यादव महतले बताए ।
उनले भने, ‘११ हजार भोल्टेजको हाइटेन्सन लाइन यो क्षेत्रमा अव्यवस्थित रूपमा छ । बिहान पाँच बजे बाटोमा हिँडिरहेका राजुको मृत्यु भयो । पटक पटक तार चुँडिने लगायतका घटना हुँदै आएको छ । स्थानीयले बारम्बार त्यसको व्यवस्थापनको लागि विद्युत् प्राधिकरणलाई आग्रह गर्दा पनि प्राधिकरणले सुन्दैन,बेवास्ता गर्दै आएको छ ।’

