अध्यक्ष कुट्ने गाउँपालिका उपाध्यक्ष शान्ति प्रहरी नियन्त्रणमा


जुम्ला – अध्यक्षमाथि हातपात गर्ने जुम्ला गुठिचौर गाउँपालिका उपाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले आइतबार गाउँपालिका अध्यक्ष दानबहादुर बुढामाथि हातपात गरेकी थिइन्।

आजबाट सुरू भएको आर्थिक वर्षको बजेट कार्यपालिकाबाट पारित गराउन छलफल चल्दै गर्दा एक्कासि हातपात गरेको उजुरीपछि उनी आफैं प्रहरीको सम्पर्कमा पुगेकी थिइन्।

उनलाई अहिले पनि प्रहरी नियन्त्रणमा राखिएको गाउँपालिकाका प्रवक्ता अर्जुनकुमार महताराले जानकारी दिए।

‘अध्यक्ष आफ्नै चेम्बरमा बसिराख्नु भएको थियो। कार्यपालिका बैठक सुरू हुन आँट्दै थियो। उपाध्यक्षले एक्कासी आएर बजेटको सिलिङ माग्नुभयो। अध्यक्षले सूचना प्रविधि हेर्ने अधिकारीलाई सिलिङ देखाउन अह्राउँदै हुनुहुन्थ्यो,’ प्रवक्ता महताराले भने, ‘उहाँ एक्कासि अध्यक्षमाथि जाइलाग्नुभयो। सुरूमा दुई झापड हानेपछि चप्पल प्रहार गर्नुभयो। हामीले असहमति केमा हो बुझ्नै पाएनौं।’

कार्यपालिकाको बैठकले घटनाप्रति दुःख व्यक्त गरेको उनले बताए। गाउँपालिकाको बजेट पनि आइतबार नै अनुमोदन भइसकेको छ।

गाउँपालिका अध्यक्ष दानबहादुर बुढा कांग्रेसका हुन् भने उपाध्यक्ष मल्ल नेकपा (एकीकृत समाजवादी) की हुन्।

प्रतिक्रिया