

‘झुट र बेइमानीको खेती गर्ने राजनीतिक दलले दुःख दिन्छन्’

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुट र बेइमानीको खेती गर्ने राजनीतिक दलहरुले मानव अधिकारको खिलाफमा गएर दुःख दिन सक्ने दाबी गरेका छन् । मानवअधिकार एलायन्सको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त दाबी गरे ।
‘राजनीतिक दल मानवअधिकारको खिलाफमा हुन्छ भन्ने होइन । कहिले–कहिले राजनीतिक दलहरु आफ्ना स्वार्थका लागि मति भ्रष्ट भए भने झुट र बेइमानीको खेती गर्ने भए भने त्यस्ताले दुःख दिन सक्छन्,’ अध्यक्ष ओलीले दाबी गरे । उनले नेकपा एमाले भने त्यस्तो पार्टी नरहेको पनि टिप्पणी गरेका छन् । ‘तर हाम्रो पार्टी यस्ता कुरामा सजग छ,’ ओलीले भने । अध्यक्ष ओलीले अहिले मानिस भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभाबी बोल्नेसँग रमाउन थालेको बताएका छन् ।
अध्यक्ष ओलीले नेपाली समाज सामाजिक मूल्य-मान्यताबाट विचलित हुँदै गएको बताए । उनले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुँदै गएको बताएका हुन् । उनले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै सतर्क हुनुपर्ने अवस्था आएको बताए । उनले अहिले मानिस भगवान्सँग पनि डराउन छोडेको र अराजकता, जथाभाबी बोल्नेसँग रमाउन थालेको उल्लेख गरे ।
‘मान्छेमा भक्ति समाप्त भयो, भगवान्सँग पनि डराउन छोड्यो, नैतिकता पनि गुमायो, त्यसले अलि भद्रगोल, अराजकता, जथाभाबी बोल्ने, सत्य नचाहिने, असत्य बोल्दा आनन्द मान्ने, असत्यको बाटो अवलम्बन गर्दा गौरव गर्ने, झुट बोल्न पाउँदा, अर्कालाई पीडा दिन पाउँदा, आनन्द मान्ने परपीडक प्रवृत्ति बढेको छ’, उनले भने ।
उनले आदिकवि भानुभक्त आचार्यको योगदान कुनै पनि कुराले कमजोर हुन नसक्ने बताए । उनले भानुभक्तले रामायणको अनुवाद गरेर नेपाली समाजलाई गुन लगाएको उल्लेख गर्दै यसले समाजलाई स्थितिमा मूल्य, नैतिकतामा बाँध्ने प्रयास गरेको बताए । उनले भक्ति र नैतिक रस भंग भएर मानिसले नैतिकता गुमाउँदै गएको बताए ।
अध्यक्ष ओलीले नेपाली समाजको सांस्कृतिक अधोपतन हुन नदिन सबै एक भएर लाग्नुपर्ने बताए । ‘नेपाली समाजको एउटा पक्ष परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण तरिकाले अवलम्बन गर्ने, अलिक सामाजिक मूल्यबाट विचलित भएको छ । त्यो चिन्ताको विषय हो’, उनले भने, ‘जसलाई आज हामीले सांस्कृतिक हिसाबले, हाम्रो सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् समाज भनेर हामी सबै सतर्क हुनुपर्ने आवश्यकता छ ।’

