

बालुवाटारमा सीतालाई श्रद्धाञ्जली : शोकमग्न प्रधानमन्त्री प्रचण्ड परिवार (तस्वीरहरु)

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जीवन सङ्गिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले बुधबार निधन भएकी सीताको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका हुन् । उनीहरूले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यसअघि आज बिहान प्रधानमन्त्री प्रचण्डले सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गरे । नेकपा (माओवादी केन्द्र)का नेताहरू पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, ओनसरी घर्तीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
यस्तै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न पार्टीका नेताहरूले बालुवाटार पुगेर दिवङ्गत सीताको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।
आजै शुभेच्छुक तथा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले श्रद्धाञ्जली अर्पण गरेका थिए । नेपालका लागि कोरियाली राजदूत तेइ योङ्ग पार्क, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसाला श्रवान विराकून, नेपालका लागि रसियन राजदूत अलेक्सेय नोभिकोभ, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, नेपालका लागि बङ्गलादेश, इजराइल, श्रीलङ्का, फिनल्याण्ड, उत्तर कोरियालगात देशका राजदूतहरू बालुवाटार पुगेर दिवङ्गत सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि आज र भोलि बिहान ८ः०० देखि १० बजेसम्म र अपराह्न ४ः०० देखि साँझ ६ः०० बजेसम्मका लागि समय निर्धारण गरेको थियो ।
प्रचण्ड तीन दिन शोकमा बस्ने, काजकिरिया भने नगर्ने
पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिनसम्म शोकमा बस्ने भएका छन् । आउँदो ३० गतेबाट उनी नियमित काममा फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले तीन दिनसम्म प्रधानमन्त्री निवासमै रहने जानकारी दिए । ‘प्रधानमन्त्री ज्यू ३० गतेपछि पूर्ववत सक्रिय हुनु हुनेछ’, उनले भने ।
प्रधानमन्त्री पत्नी सीता दाहालको हिजो नर्भिक अस्पतालमा निधन भएको थियो । उनको राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । हिन्दू संस्कारअनुसार नै दाहसंस्कार गरिएको थियो । अन्य काजक्रिया भने नगरिने भएको छ । प्रधानमन्त्रीको परिवारमा कसैले पनि नुन बारेका छैनन् । प्रधानमन्त्री प्रचण्डका भाइ नारायण दाहालले हिन्दू संस्कारमा हुने १३ दिनको काजक्रिया नगरिने जानकारी दिए । ‘उहाँ भोलिसम्म तीन दिन शोकमा बस्नुहुन्छ, तर हिन्दू संस्कारको काजक्रिया गरिएको छैन’, उनले भने ।
यसअघि प्रचण्ड पुत्र प्रकाश दाहालको निधन हुँदा पनि काजकिरिया गरिएको थिएन । भाइ दाहालले भने, ‘जस्तो प्रकाशको बेलामा गरिएको थियो, अहिले पनि त्यही नै हुन्छ ।’ कम्युनिष्टले धर्म नमान्ने भएकाले प्रचण्ड परिवारले सीताको काजकिरिया नगर्ने भएको हो । बरु सातौं दिनमा शोकसभा राख्ने तयारी गरिएको दाहालले जानकारी दिए । ‘निश्चित भइसकेको छैन, तर सातौं दिनमा शोकसभा राख्ने तयारी चाहिँ छ’, उनले भने । तस्वीरहरु : प्रधानमन्त्रीको सचिवालय

