

धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्दै भारत, महाकाली नदी किनारमा सतर्कता अपनाउन प्रशासनको अनुरोध

काठमाडौं – दार्चुला जिल्ला प्रशासन कार्यालयले महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएपछि प्रशासनले सूचना जारी गर्दै असार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म र त्यसपछि पनि सतर्कता अपनाउन भनेको हो ।
भारतको एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्न लागिएको जानकारी गराएका छन् ।
सिल्ट सफाइका लागि असार २६ गते बिहान ५ बजेदेखि राति ८ बजेसम्म बाँध खोल्न लागिएको पत्रमा उल्लेख छ ।
भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा पर्ने धौलीगंगाको बाँध खोल्दा दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीको जलस्तर बढ्दछ । त्यसैले महाकाली नदी किनारमा बसोबास गर्दै आएका बासिन्दालाई बाँध खोलिने अवधिभर र त्यसपछि पनि सतर्कता अपनाउन दार्चुला प्रशासनले अनुरोध गरेको छ ।

