प्रहरीको कमजोर कमाण्डले ललितपुरमा गुण्डागर्दी मौलायो


काठमाडौं – प्रहरीको कमजोर कमाण्डका कारण पछिल्लो समय उपत्यकामा गुण्डागर्दी मौलाउन थालेको छ ।

राजधानीका चर्चित गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटे र चरी नामले चिनिएका दिनेश अधिकारी प्रहरी इन्काउन्टरमा मारिएपछि उपत्यकालगायत देशका विभिन्न सहरमा उपद्रो मच्चाउँदै आएका गुण्डाहरुको भागाभाग भएको थियो ।

ज्यान जोगाउन केही गुण्डा नाइकेहरु राजनीति दलको ओत लागे भने कोही विदेश पलायन भए । नाम चलेका गुण्डा नाइकेहरु यतिबेला गुपचुप रहे पनि केही नयाँ गुण्डाहरुको भने उदय हुन थालेको छ ।

लागूऔषध मुद्दामा १० वर्ष जेल बसेर बाहिर निस्किएका रमेश बाहुन भनिने सुजन पौडेल पनि अब राजनीतिमा लाग्ने भन्दै विभिन्न समाचारमाध्यममा अन्तर्वार्ता दिँदै हिँडेका छन् । तर केही युवा भने छोटो समयमा सहजै धन कमाउने गलत नियतका साथ गुण्डागर्दीको शैलीबाट हप्ता असुलीमा लाग्न थालेको भेटिएको छ ।

अवतार भनिने आशिष तामाङ र प्रकाश तामाङले ललितपुरका विभिन्न स्थानमा सञ्चालित ढुंगाखानी, क्रसरका साथै अन्य निर्माण व्यवसायीहरुसँग हप्ता असुल्ने गरेको गुनासो व्यवसायीहरुले बताएका छन् । उनीहरुले मागेजति हप्ता नबुझाए भौतिक आक्रमणसमेत गर्दै आएका छन् । यही समूहले ६ महिना आगडि हप्ता नदिएको भन्दै क्रसर संघका अध्यक्ष सुदर्शन विष्टलाई बेलुका ७ बजेतिर बाटो छेकेर मरणासन्न हुने गरि कुटपिट गरेका थिए ।

त्यसका साथै आशिषले स्थानीय व्यवसायी राजेन्द्र थापालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । उक्त घटनामा उनी ६ महिनापछि पक्राउ परी धरौटीमा रिहा भएका अभियुक्त हुन् । तत्कालीन ललितपुर प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) यज्ञविनोद पोखरेलले यो समूहलाई पटक–पटक पक्राउ गर्दै मुद्दा चलाए पनि धरौटीमा रिहा हुँदै आएका छन् ।

यही समूहले एक वर्ष अगाडि हप्ता नदिएको भन्दै दर्जन बढी टिपरमाथि आक्रमण गरी सिसा समेत फुटाएका थिए । उक्त उजुरी ललितपुर प्रहरीमा दर्ता भए पनि प्रहरीले उनीहरुलाई कारबाहीको दायरामा ल्याउन नसकेको गुनासो व्यवसायीहरुले गरेका छन् । यो समूहले ३ महिना अगाडि सामूदायिक वनबाट अवैध रुपमा ढुंगा उत्खनन् गरेको भेटिए पछि वन कार्यालयले डोजर नियन्त्रणमा लिएर वन मुद्दा चलाएको छ ।

यो समूहको अपराध यात्राको कारणले प्रहरीलाई चुनौती थपिएको छ भने स्थानीय व्यवसायीलाई व्यापार व्यवसाय सञ्चालनका लागि अवरोध सिर्जना भइरहेको छ ।

पछिल्लो समयमा घैंटेका खास सहयोगी सानुभाई भनिने नुवाकोटका युवराज गुरुङ ठमेलको ओम्निया क्लबका सञ्चालकलाई कुटपिट गरेकोले समेत पनि राजधानीमा गुण्डागर्दी बढ्दै गएको देखिएको छ ।

प्रतिक्रिया