बाढीले जलविद्युत् आयोजना निर्माण प्रभावित


म्याग्दी – बाढीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेमा निर्माणधीन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ । संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधतर्फ बाढीले अत्यधिक क्षति पुर्‍याएपछि निर्माण प्रभावित बनेको हो ।

यी असार २१ गते राति आएको अविरल वर्षापछिको बाढीले आयोजनाको बाँधलगायत पूर्वाधारमा क्षति पुर्‍याएको आयोजनाका प्रमुख रविन्द्र हमालले जानकारी दिए । ‘बाढीले पूर्वाधार निर्माण कार्य प्रभावित बनेको छ, केही सामाग्री पनि बगाएको छ’, उनले भने । आयोजनाको निर्माण स्थलतर्फको पहुँच मार्ग समेत बाढीले बगाएको छ ।

ठेक्का लिएको साकुरा पावर-त्रिपल एस कम्पनीले बाढीबाट रु ४५ लाख बराबरको क्षति पुर्‍याएको जनाएको छ । आयोजनाको पहुँचमार्ग रहेको रघुगङ्गा–७ चिमखोलादेखि आयोजनास्थलतर्फको सडकखण्डअन्तर्गत मलाङको पहिरोले सडक निरन्तर अवरुद्ध भएको छ । यसबाट निर्माण सामाग्री ढुवानी समस्या भएको छ ।

बाँध र विद्युत गृहतर्फको पूर्वाधार निर्माणमा एक सय ३० मजदुर काम गर्दै आएका छन् । सन् २०२४ जुलाइसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएकामा अब समय बढी लाग्ने आयोजना प्रमुख हमालले बताए । हालसम्ममा आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ ।

फेदीखोलामा मुहान रहने उक्त आयोजनामा पानीलाई छरीस्थित रघुगङ्गा नदीको किनार विद्युत गृहसम्म ल्याउन दुई हजार सात सय १५ मिटर लामो सुरुङमार्ग खन्नु पर्नेछ । हालसम्म दुई हजार मिटर सुरुङ निर्माण भइसकेको आयोजनाले जनाएको छ । आयोजनाको लागत रु तीन अर्ब ६० करोड अनुमान गरिएको छ ।

प्रतिक्रिया