नक्कली भुटानी शरणार्थी प्रकरणः आरजुको नाम लिँदै गरिएको अडियोमा सन्देश शर्माको स्वर पुष्टि


काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी एवं सांसद आरजु राणाको नाम जोडेर करौडौं रुपैयाँ बराबर रकमको डिल भएको जनाउने अडियो सन्देश शर्माको भएको पुष्टि भएको छ।

प्रहरी प्रधान कार्यालयले उक्त अडियो नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका दाङको तुलसीपुर घर भएका सन्देश शर्माको भएको जनाएको छ। अडियो परीक्षण गर्दा शर्माको स्वरसँग ‘स्पिकर आइडेन्टिफिकेस ट्रेट्स म्याच’ भएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो चरणको प्रहरी अनुसन्धान चलिरहँदा आरजुको नाम समेत लिएर रकम डिल भएको अडियो सार्वजनिक भएको थियो। सोही विषयलाई छानबिनको माग गर्दै देउवा पत्नी आरजुले साइबर ब्यूरोमा निवेदन दिएकी थिइन्।

उक्त अडिओ कहाँ र कसबाट ‘ओरिजिनेटेड’ भयो भन्ने सम्बन्धमा भने टिकटक सिंगापुरलाई पत्राचार गरिएकोमा अहिलेसम्म जवाफ नआएको डीआईजी कडायतले उल्लेख गरेका छन्।

अडियोमा आवाज रहेका शर्मा हाल नक्कली शरणार्थी प्रकरणको मुद्दाको पुर्पक्षका लागि थुनामा छन्। प्रहरी सँगको बयानका क्रममा पनि शर्माले उक्त अडियो आफ्नो भएको स्वीकार गरेका थिए।

नक्कली भुटानी शरणार्थीको रुपमा अमेरिका जान भनेर रकम बुझाएका व्यक्ति (पीडितहरु) सँग कुराकानीका क्रममा शर्माले आरजुलाई समेत करोडौं रुपैयाँ बुझाइएकाले काम हुने भन्दै आश्वासन दिएको सुनिन्छ।

Police_release_sandesh_Sharma1688886811.jpg

प्रतिक्रिया