न्यायाधीशहरूको नियुक्तिका एजेण्डासहित डाकिएको न्याय परिषद् बैठक स्थगित


काठमाडौं – उच्च अदालतका न्यायाधीशहरूको नियुक्तिका सम्बन्धमा छलफल गर्ने एजेण्डासहित डाकिएको न्यायपरिषदको बैठक स्थगित भएको छ । आज (बुधबार) दिउँसो बस्ने गरी बोलाइएको बैठकमा कानुनमन्त्री अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको हो ।

नेपाली कांग्रेसले बजेट पारित गर्न पार्टीले ह्विप जारी गरेपछि कानुनमन्त्री धनराज गुरुङ बैठकमा उपस्थित नभएका हुन् । सरकारले आगामी वर्षको आर्थिक वर्षको बजेट आजको संसद बैठकबाट पारित गर्ने तयारी गरेको छ ।

न्याय परिषदको गत सोमबार बसेको बैठक निष्कर्षविहीन भएपछि सोही बैठकको निरन्तरतास्वरुप बुधवारका लागि बैठक डाकिएको थियो । तर बुधबारको बैठकमा कानुनमन्त्री गुरुङ उपस्थित हुन नसक्ने भएपछि प्रधानन्यायाधीश हरिकृष्ण कार्की र वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पनि बैठकमा उपस्थित भएनन् ।

न्यायपरिषद्का दुईजना सदस्यहरू मात्रै परिषद्को सचिवालयमा उपस्थित भएका थिए । उच्च अदालतमा हाल ४७ न्यायाधीशको पद रिक्त छ । ४७ न्यायाधीशको पद रिक्त भएपनि यसअघि २७ न्यायाधीश पदमा नियुक्तिका लागि ८१ जनाको सर्ट लिष्ट तयार पारिएको थियो । सोही सर्ट लिष्टका आधारमा २७ जना न्यायाधीशको नियुक्ति गर्ने तयारी थियो ।

प्रतिक्रिया