झापामा सडक दुर्घटना : ट्रक र कार ठोक्किँदा बाबु-छोरीको मृत्यु


झापा – पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा आज सडक दुर्घटनामा परेर बाबु–छोरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी-९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १-०२-००१क ३८७९ नं को ट्रक र विपरीत दिशाबाट गइरहेको प्र १-०१-००च ७४८२ नम्बरको कार एकापसमा ठक्कर खाँदा कार चालक मोरङको उर्लाबारी–६ का ४५ वर्षीय गुरुचन चौधरी र सोही कारमा सवार उनकी छोरी १८ वर्षीया कुमकुमको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते दुवैको उपचारका क्रममा विर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा मृतककी श्रीमती ४० वर्षीया सुजिता, छोरा १० वर्षीय विवेक, ३६ वर्षीया रञ्जुदेवी चौधरी, रतुवामाई १० का १९ वर्षीय रिकेश न्यौपाने र उर्लाबारी–७ की ४० वर्षीया मुना शाह रहेका छन् ।

उनीहरुको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । परिवार र आफन्तसहित उनीहरु विवाहमा सहभागी भई घर फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया