

दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत् पुर्याइनेछः ऊर्जामन्त्री बस्नेत

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत् पुर्याउने घोषणा गरेका छन्।
प्रतिनिधिसभा बैठकमा सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बस्नेतले हालसम्म ९६ प्रतिशत नेपालीको पहुँचमा विद्युत् पुगेको उल्लेख गर्दै २ वर्षभित्रै सबैले भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पाउनेगरी योजना बनाइएको र त्यसलाई कार्यान्वयनमा लगिने बताए।
उनले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका आगामी दुई वर्षभित्र विद्युतीकरण गरिसक्ने लक्ष्यसाथ सरकारले काम गरिरहेको दाबी गरे। उनले विद्युत् खपतका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउने र खाना पकाउने एलपी ग्यासको परनिर्भरता घटाउँदै लैजाने सरकारले नीति रहेको स्पष्ट पारे।
मन्त्री बस्नेतले मुलुकलाई आत्मनिर्भर हुने गरी विद्युतको उत्पादन र बजारीकरणको कामलाई सरकारले प्राथमिकता दिएको पनि बताए।

