

नेपाललाई ओमानले दियो २६८ रनको लक्ष्य

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता भइरहेको अभ्यास खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्था गरिरहेको छ । खेलमा ओमानले नेपाललाई दुई सय ६८ रनको लक्ष्य दिएको छ ।
टस जिती पहिलो ब्याटिङको निर्णय लिएको ओमानले ४९.२ ओभरमा अलआउट हुनुअघि दुई सय ६७ रन बनाएको हो । ओमानका लागि कप्तान जिसन मक्सुदले सतकीय पाली खेले । उनले एक सय ६ बलको सामना गरी एक सय नौ रन बनाए । मक्सुदको आक्रामक ब्याटिङसामु नेपालका बलर निरिह देखिएका थिए । सोइब खानले पनि ४८ बलको सामना गरी ३८ रन बनाएका थिए ।
खेलको प्रारम्भमा नेपाली बलरहरुले ओमानका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । ओमानले केवल सात रनको कुल स्कोरमा आफ्नो चार विकेट गुमाएको थियो । पहिलो र दोस्रो विकेट सोमपाल कामीले लिएका थिए भने तेस्रो विकेट करण केसीले हात पारेका थिए ।
त्यसपछि ओमानको चौथो विकेट सोमपाल कामीले लिए । पाँचौं विकेट सन्दीप लामिछाने र छैटौं विकेट प्रतिष जीसीले लिएका थिए । सातौं विकेटका रुपमा सोमपालले ओमानका कप्तान मक्सुदलाई पेभेलियन फर्काएका थिए । कप्तान मक्सुदका कारण नै ओमानको ब्याटिङ लयमा फर्किएको थियो । उनलाई त्यसपछिका अन्य ब्याट्सम्यानले पनि गतिलो साथ दिएका थिए ।
यसअघि जिम्बाबेमा खेलिएको पहिलो अभ्यास खेलमा नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई)सँग तीन विकेटले पराजित भएको थियो । त्यसअघि दक्षिण अफ्रिकामा खेलिएको अभ्यास खेलमा पनि नेपाली टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सँग पराजित भएको थियो ।

