निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान


काठमाडौं – निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकाबीच सर्वदलीय बैठक आह्वान गरेको छ ।

बुधबार आयोगका पदाधिकारीहरूको बैठकले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाई जिल्ला प्रशासन कार्यालय मातहतको इकाईमा रूपान्तर गर्ने प्रस्तावविरुद्ध छलफलका यही जेठ २६ गते बिहान साढे ११ बजे सर्वदलीय बैठक आह्वान गरेको हो ।

सर्वदलीय बैठकमा लागि विभिन्न ५ वटा एजेण्डा तय गरिएको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन् । बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालयहरू खारेजीबारे, नयाँ निर्वाचन व्यवस्थापन विधेयक प्रस्तुत गर्ने विषय, नगरपालिका र गाउँपालिकाबाट आवश्यक संयन्त्र खडा गरी मतदाता नामावली संकलनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको प्रस्ताव संविधान र कानुनविपरीत रहेको भन्दै सिडिओ कार्यालय मातहत निर्वाचन कार्यालय लगेर निष्पक्ष निर्वाचन गर्न नसकिने जनाएको छ । साथै, आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले प्रधानमन्त्रीको समय समेत माग गरेको छ ।

प्रतिक्रिया