

प्रचण्डले निर्वाचन आयोगलाई ‘धम्क्याउनु’को कारण

काठमाडौं– हालै राजधानीमा गरिएको विरोध सभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने,‘हामी आधिकारिक हौं, नेकपा र सूर्य चिन्ह हाम्रो हो, खबरदार निर्वाचन आयोग!’
उनले त्यसपछि सभामा उपस्थित भएका कार्यकर्ताको भिडलाई देखाउँदै आधिकारिकता पुष्टि भइसकेका कारण निर्वाचन आयोगले दायाँ बायाँ गरे ठिक नहुने बताए।
यति मात्र होइन, प्रचण्डले सर्वोच्च अदालत र आयोगमा ‘सेटिङ’ भएको भनी बारम्बार भन्दै आएका छन्। आधिकारिकता दाबीका लागि आयोगमा दुई पटक पुगीसकेका प्रचण्डले किन धम्की दिए होला?
आयोगले नेकपाको आधिकारिकता दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड नै रहेको पत्र पठाएको थियो। उसले भनेको थियो,‘५ बर्षसम्म यो पार्टी विभाजन हुन सक्तैन।’ नेता बामदेव गौतमको लाइनमा नै आयोगको यस्तो फैसला आएपछि एउटै पार्टीमा रहन नसक्ने अवस्थामा पुगेका प्रचण्डले चुनाव चिन्ह पाउन कठिन हुने भएपछि आयोगलाई धम्की दिएका हुन्।
उच्च स्रोतका अनुसार आयोगले आधिकारिकता प्रधानमन्त्री ओलीको पार्टीले नै पाउने हिसाबले छलफलमा प्रचण्डलगायतलाई भनेको थियो। यसबाहेक प्रचण्डनजिक रहेका आयोगका कतिपय आयुक्तले चुनाव चिन्ह र नेकपाको आधिकारिकता ओलीलाई नै दिने तयारी भइरहेको सूचना दिएपछि उनी गर्जिएका हुन्।
यस्तो सूचना पाएको विषयमा प्रचण्डले माधवकुमार नेपाल, झलनाथ खनाललगायतसँग पनि परामर्श गरिसकेका छन्। त्यसैले चुनाव चिन्ह र नेकपा लिनका लागि सडकमा अझ दबाबमूलक कार्यक्रम गर्नुपर्ने उनको निष्कर्श थियो।
सोहीअनुसार आयोगलाई दबाब दिनका लागि सिंहदरबार घेराउको आन्दोलन र तयारीमा प्रचण्ड समूहको नेकपा जुटिसकेको छ। जसले सरकारलाई भन्दा पनि पार्टी विभाजन र आधिकारिकतालाई बढी दबाब दिन सकिने उनीहरूको ठहर रहेको स्रोतको दाबी छ।

