रेशम चौधरीलाई आम माफी अदालतमाथिको बलमिच्याँइ : गगन थापा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताएका छन् । सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले टिकापुर हत्या काण्डमा जन्मकैदको घोषणा गरेको कैदीलाई आम माफी दिनु सर्वोच्च अदालतको निर्णयमाथी बलमिच्याइ भएको बताएका हुन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले सरकारले आवश्यक्ताका आधारमा निर्णय गर्ने भन्दा पनि कानूनको शासन मान्नुपर्ने बताए । उनले नेपालको कानूनले कुनैपनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ की हुँदैन भनेर कानूनले बन्दोबस्त गरेको उल्लेख गर्दै कानूनको बन्दोबस्त गरुे भन्दा बाहिर कोही पनि जान नमिल्ने बताए ।

थापाले सरकारलाई मन लाग्यो, सरकारले निर्णय गर्यो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसावले मात्रै यसलाई लिन नहुने बताए । उनले यो राजाको शासन नभएकाले कसैको हुकुम नचल्ने बताए । सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर प्रचलित कानुनलाई मिच्न नहुने बताउँदै उनले राष्ट्रहित विपरित गरिने निर्णयले भविष्यमा आफैँलाई पछुतो हुने बताए ।

महामन्त्री थापाले रेशम चौधरीको बारेमा अदालतको पूर्ण पाठ नआइसकेको अवस्थामा अदालतलाई हेप्नुले जे गरेपनि हुन्छ भन्ने मानसिकता विकसित हुँदै गएको प्रमाणित भएको बताए ।

महामन्त्री थापाले नेपाली कांग्रेसले अब कहिल्यै पनि चुनावअघि गठबन्धन नगर्ने प्रतिवद्धता समेत जनाए । उनले संसदमा सांसदले बोलेको कुरा मेटाएको प्रति पनि आपत्ति जनाएका छन् । उनले तीन शीर्ष नेताको निर्णयमा संसदमा रेकर्ड भएको अभिव्यक्ति मेटाउने भए अब संसदमा बोल्नुको अर्थ नभएको पनि बताए ।

प्रतिक्रिया