

कृत्रिम खुट्टाका साथ सगरमाथा चढेका बुढामगर राजधानीमा, विमानस्थलमा गरियो भव्य स्वागत

काठमाडौं – कृत्रिम खुट्टा लिएर सगरमाथा चुचुरो टेकेर आएका पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । आफ्ना दुवै खुट्टा (घुँडाभन्दा माथि) गुमाएका मगरको सम्मानमा विमानस्थलमा सयौं भेला भएका थिए ।
बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथा शिखरमा पुगेका हुन् । उनको स्वागत तथा सम्मानका लागि पर्यटनमन्त्री सुदन किराँती पनि विमानस्थल पुगेका थिए । मन्त्री किराँतीले दुवै खुट्टा नभएर पनि अदम्य साहस, अथक मिहेनतले विश्व शिखरमा सफल आरोहण गर्न सफल भएको भन्दै बुढामगरलाई उच्च सम्मान गर्ने बताए ।
हरिले यो आरोहणसँगै सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडामाथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।
कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले बुढामगर सगरमाथा चुचुरोमा पुगेका हुन् । रोल्पा थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले झण्डै पाँच वर्षको प्रयासपछि सगरमाथाको सफल आरोहण गरेका हुन् ।

