

सुदूरपश्चिममा मन्त्रिपरिषद विस्तार, नागरिक उन्मुक्तिले पठाएन मन्त्रीकाे नाम

धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज (शनिबार) मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री शाहीले नेपाली कांग्रेस एक र नेकपा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंह मन्त्री बनेका छन् । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । शनिबार नै बसेको कांग्रेसको सुदूरपश्चिम संसदीय दलको बैठकले सिंहलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।
त्यस्तै माओवादी केन्द्रबाट झपट साउद र रमेश धामी मन्त्री बनेका छन् भने गीतादेवी माल राज्यन्त्री बनेकी छन् । साउद सामाजिक विकास मन्त्री र धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुको शनिबार अपरान्ह शपथ हुने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने दल नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएको छैन । उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरुलाई २ वटा मन्त्रालय दिने सहमति भएको तर अहिले मुख्यमन्त्रीले एउटा मात्र नाम मागेकाले सरकारमा सहभागी नभएको बताए । यद्यपि आफूहरु छलफलमै रहेको उनले बताए ।
मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन् ।

