


कांग्रेसले बालकृष्ण खाणको निलम्बनबारे अवस्था हेरेर निर्णय लिने

काठमाडाैं – नेपाली कांग्रेसले अनुसन्धान परिपक्व भएपछि पूर्वगृहमन्त्री तथा नेता बालकृष्ण खाणको निलम्बनबारे निर्णय लिने भएको छ ।
बुधबार बसेको पदाधिकारी बैठकमा खाणले अनुसन्धानलाई सघाइरहेकाले उनलाई पार्टीबाट निलम्बन गर्ने विषयमा निर्णय गर्न आवश्यक नदेखिएको प्रवक्ता प्रकाशशरण महतले बताए ।
‘उहाँले अनुसन्धानलाई सहयोग गरिरहनु भएको छ। अनुसन्धान निष्पक्ष रुपमा होस् भन्ने चाहन्छौं’, महतले भने । बुधबारमात्रै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले खाणलाई नियन्त्रणमा लिएको थियो ।
उनलाई नियन्त्रणमा लिएसँगै बसेको पदाधिकारी बैठकमा निलम्बनबारे छलफल भएपछि कुनै निर्णय भने नगरिएको हो । खाण अहिले पार्टीको केन्द्रीय सदस्यको भूमिकामा रहेका छन् ।
महतले पहिला अनुसन्धान प्रक्रिया परिपक्व बन्नुपर्ने र त्यसपछि पार्टीले आवश्यकताअनुसार निर्णय लिने बताए । अर्का आरोपी एमालेका सचिव टोपबहादुर रायमाझी फरार रहेकाले सो पार्टीले निलम्बन गरेको हुनसक्ने बताउँदै महतले खाणको हकमा भने त्यस्तो नभएको बरु अनुसन्धानलाई सघाइरहेको बताए ।
उनले बैठकमा भ्रातृ संगठन, विभागको गठन लगायतका विषयमा समेत छलफल भएको बताए ।

