नेपाल विज्ञापन संघद्वारा आन्दोलन घोषणा


काठमाडाैं – नेपाल विज्ञापन संघ (आन)ले सरकारले जारी गर्न लागेको विज्ञापन नीतिको विरोध गरेको छ । सरकारले प्रस्ताव गरेको विज्ञापनमा एकद्वार नीतिको विषयमा आनले बुधवार काठमाडौंको तीनकुनेमा विरोध प्रदर्शन गर्दै श्रृखलावद्ध विरोधको कार्यक्रमको घोषणा गरेको छ ।

विरोधको कार्यक्रम घोषणा गर्दै आनका अध्यक्ष सोमप्रसाद धितालले विज्ञापनमा एकद्वार नीति प्रणाली कुनै पनि हालतमा कार्यान्वयन गर्न नसकिने बताए । देश आर्थिक रुपमा कमजोर रहेको अवस्थामा ठूला–ठूला मुद्दालाई समाधान गर्नुको सट्टा केही अमूक व्यक्ति र स्वार्थ समूहलाई खुशी बनाउने गरी ल्याइन लागेको विज्ञापन नीतिले कसैको पनि हित नहुने उनको भनाइ थियो ।

यसैगरी निवर्तमान अध्यक्ष रविन्द्रकुमार रिजाल (शशी)ले नेपाल खुला बजार अर्थतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा कसैको पनि स्वतन्त्र रुपमा गरिने व्यापार व्यवसायलाई हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकले तानाशाही रुपमा अंकुश लगाउन नहुने बताए ।

उनले शाही शासनकालमा ल्याइएको विज्ञापनमा एकद्वार नीतिलाई लोकतान्त्रिक सरकारले जस्ताको तस्तै कार्यान्वयनमा ल्याउन खोज्नु लोकतन्त्रकै उपहास भएको दाबी गरे ।

विरोध कार्यक्रममा अध्यक्ष धितालले संचार जगत, विज्ञापनदाता र विज्ञापन व्यवसायीलाई ऐक्यबद्धताको लागि आव्हान गरेका छन् । विरोध स्वरूप बुधवार तीनकुनेबाट निस्केको जुलुस विज्ञापन बोर्डको कार्यालय बबरमहलमा पुगेर ताला लगाएर विरोध जनाइएको थियो ।

सरकारी विज्ञापनमा एकद्वार प्रणाली खारेज गर, संचारमाध्यमको दररेट कायम गर, विज्ञापन बोर्ड विज्ञापन बाँड्ने अखडा होइन, विज्ञापनमा पारदर्शिता लागू गर, विज्ञापन आचार संहिता लागू गर, विज्ञापन बोर्डमा संघको प्रतिनिधित्व सुनिश्चित गर भन्दै निस्केको जुलुस माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेपाल विज्ञापन संघले विज्ञापन बोर्डमार्फत विज्ञापन बाँड्ने एकद्वार नीति लागू गर्ने, विज्ञापन वितरणमा एजेन्सीको भूमिका नराख्ने, बोर्डमा संघको संस्थागत प्रतिनिधित्व नहुने, विषयमा वर्तमान सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र समेत बुझाएको थियो ।

प्रतिक्रिया