‘फरार’ पूर्वमन्त्री टोपबहादुर रायमाझीको निवासमा खानतलासी


काठमाडौं – नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सामेल भएको भन्दै पक्राउ पूर्जी जारी गरिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा प्रहरीले खानतलासी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गरेको हो ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म फेला पर्न नसकेपछि प्रहरीले खोजी गर्ने क्रममा रायमाझीको निवासमा खानतलासी गरेको हो ।

ँजिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी प्रमुखको दानबहादुर कार्कीले अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीको  निवासमा खानतलासी लिइएको बताए । उनको निवासमा खानतलासी गरिएपनि रायमाझी भने फेला परेनन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवासम्म आइपुगेका उनी त्यहाँबाट भने सम्पर्कविहीन बनेका थिए ।

रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० मा वारेन्ट जारी भएको थियो ।  जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट दुबैजनाविरद्ध पक्राउ पुर्जी लिएको थियो ।

वारेन्ट जारी भएपछि उनका छोरा पक्राउ परेपनि रायमाझी ‘फरार’ रहँदै आएका छन् । दुवै जनामाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा  संलग्न रहेको आरोप छ ।

प्रतिक्रिया