

माग पूरा नभएसम्म आन्दोलन नराेक्ने मिटरब्याज पीडितको अडान

काठमाडौ – आन्दोलनरत मिटरब्याजी पीडितहरुले माग पुरा नभएसम्म आफ्नो धर्नालगायतका आन्दोलनका कार्यक्रम जारी राख्ने अडान लिएको छ । तराईका विभिन्न जिल्लाबाट आएर काठमाडौंको आएर झण्डै एक महिनादेखी शान्तिबाटिकामा धर्नादिएर आन्दोलनका कार्यक्रम गरिरहेका पिडीतले आफ्नो आन्दोलन जारी राख्ने बताएका हुन् ।
तराईका नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरुले धर्नालाई निरन्तरता दिएका छन् । उनीहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै एक मिटरब्याजी पीडितले राजनीतिक रूपमा दृष्टिबन्धक, तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने बताए । उनले यी सबै कुराको क्षतिपूर्ति व्यहोर्नुपर्ने बताए ।
अहिले सबैभन्दा ठूलो समस्या मुद्दा परिरहेकाले मुद्दा स्थगित हुनुपर्ने र मुद्दा छिनोफानो भइसकेको भए पुनरावेदन हुनुपर्ने, पक्राउ पुर्जी रोक्नुपर्ने माग आफूहरूको रहेको बताए । उनीहरुले जेलमा भएका पीडितहरुलाई ससम्मान रिहा गर्नुपर्ने बताए ।
सरकारले विभिन्न चरणमा वार्ता गरि आयोग गठन गरेपनि पीडितहरुलाई झुक्यायने काम मात्र भइरहेको भन्दै तत्तकाल कारर्वाहीको प्रक्रिया अघि बढाउनुपर्ने उनीहरुको माग छ ।

