गुल्मीमा जीप दुर्घटना: सहचालकको मृत्यु, चालक घाइते


गुल्मी – गुल्मीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का १ जना घाइते भएका छन्।

जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङ्गबाट बागलुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याप जिप दर्लिङ्गको दुनाममा दुर्घटना भएको हो।

दुर्घटनामा सहचालक बागलुङको बडिगाड गाउँपालिका-९ बल्गास बस्ने १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

सोही ठाउँका चालक २१ वर्षीय प्रेम केसी घाइते भएका छन्। केसीको अवस्था मध्यम रहेको र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए।

बुधबार राति ११:४० बजेको समयमा जिपको एक्कासि ब्रेक फेल भएर सडकभन्दा करिब १५० मिटर तल खसेको स्थानीयलेको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनाबारे थप अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ।

प्रतिक्रिया