काठमाडौं प्रहरी परिसर प्रमुख ज्ञवालीले थुनुवालाई यातना दिए, आयोगमा उजुरी (पीडितका बुवाको भिडिओ बयान)


काठमाडौं– त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेको आरोपमा काठमाडौं प्रहरी परिसरले पक्राउ गरेका दुई जना विद्यार्थीले हिरासतमा चरम यातना पाएको खुलेको छ ।

सिरहा गोलबजार–६ घर भएका विद्यार्थी रुपेश साह र गोलबजार–३ का रविन लामालाई पक्राउ गरी हिरासतमा काठमाडौं परिसर प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) श्यामलाल ज्ञवाली आफैंले यातना दिएको पीडितका बुवाले बताएका छन् ।

यातना पाएका मध्ये साहका बुवा श्यामकिशोर साहले अनलाइनन्युज सेभेनसँग भिडिओ बयानका क्रममा आफ्ना छोरालाई छातीमा, टाउकोमा बुटले हिर्काउने काम ज्ञवालीले गरेको बताए ।

आयोगमा दिइएको उजुरी

जिल्ला अदालत काठमाडौंमा पीडित आफैंले पनि ज्ञवालीद्वारा यातना दिएर जबरजस्ती बयान कबुल गर्नका लागि दबाब दिएको बताएका थिए । ज्ञवालीले पक्राउ गरिएका विद्यार्थीहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाएका छन् ।

२४ असोजमा दुवैजनालाई पक्राउ गरी फरक–फरक वृत्तमा राखिएको थियो । दुई दिनसम्म लामालाई सोह्रखुट्टे र साहलाई दरबारमार्गमा राखेपछि परिसरको हिरासतमा लगिएको थियो ।

‘छातीमा, बुटले टाउकोमा हिर्काउने ज्ञवाली हुन् । हामीलाई पीडित भेट्न समेत दिएनन्’ श्यामकिशोर भन्छन्,‘सुरुमा भेट गर्न नपाएपछि हामीले मानवअधिकारवादी गुहारेका थियौं । एक पटक भेटियो । तर, फेरि भेट्न दिइएको छैन । छोरालाई यातना दिइएको छ ।’

पीडित परिवारले कसैको ज्यान मार्ने काम नगरेको, आन्दोलन समेत नगरेको अवस्थामा यसरी यातना दिनु लोकतन्त्रको उपहास गरिएको बताउँदै क्षतीपूर्तीको दाबी गरेको छ ।

उता पीडित परिवारले ज्ञवाली र प्रहरीविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी समेत दिएको छ । ३० असोजमा मानवअधिकार आयोगलाई दिइएको उजुरीमा कारबाहीको माग गरिएको हो ।

प्रतिक्रिया