

सिरहा अस्पतालमा आगलागी : विरामीको भागाभाग, एक जनाको मृत्यु

सिरहा – प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी भएको छ । आगलागीका कारण प्रादेशिक अस्पताल सिरहामा डायालासिस गराइरहेका एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा सिरहाको बरियारपट्टी गाउँपालिका – खोक्सीका ६५ वर्षीय प्रदीपकुमार दास छन् । डायालासिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएपछि वाडमा भागाभाग मच्चिएको थियो । त्यस क्रममा डायालासिस गराइरहेका दासलाई रगतको कमी भएकाले रगत चढाइएको थियो ।
आगलागी भएको जानकारी पाएपछि वार्डमा खटिएका स्वास्थ्यकर्मीले रगतको पाइप चुडाइदिएको र क्याब नलगाउँदा बिरामीको अत्याधिक रक्तश्राव भएको थियो । अत्याधिक रक्तश्रावका कारण गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको हो । आगलागीको समयमा आठ बिरामीले डायालासिस गराइरहेका थिए ।
पहिलेदेखि सिकिस्त दासको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी अशोक सिंहले जानकारी दिएका छन् । अरु वार्डमा पनि भर्ना भएका बिरामीहरुको भागभाग भएको थियो । डायालासिस, एचडियू, प्रसुति वार्डलगायतमा भर्ना भएका बिरामी आगलागीबाट बच्न बाहिर निस्किएका थिए । यतिबेला अस्पतालका मेसु डा. नागेन्द्रप्रसाद यादव नेपाल बाहिर रहेको अस्पतालले जनाएको छ ।

