

महानगर मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन भएको छ ।
संविधान र कानूनविपरीत सुकुम्बासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रदर्शन गरिएको हो ।
आफूहरूलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा शुरू गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताए ।
संविधान, कानूनविपरीत भूमिहीनहरूलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर साहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत उनले दिए ।
विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःशर्त रिहा गर्नुपर्ने, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्दा खारेज हुनुपर्ने मागसहित नाराबाजी गरिएको थियो ।

