

एक इन्च तलमाथि भए कारबाही हुन्छ : तुम्बाहाङ्फे

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिएकी छन् ।
भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई काठमाडौंमा शनिबार निर्देशन दिंदै मन्त्री तुम्बाहाङ्फेले कानूनभन्दा बाहिर गएर काम कारबाही नगर्न निर्देशन दिएकी हुन् । ‘तपाईंहरुले निश्चित अधिकारमात्रै दिइएको छ,’ उनले भनिन्, ‘ऐन विपरीत जानुभयो भने कानूनी दायराभित्र आउनुपर्छ । एक इन्च बाहिर जानुभयो भने कारबाही हुन्छ ।’
मन्त्री तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय रहनेतर्फ सचेत गराउँदै त्यस्ता व्यक्ति र समूहबाट टाढै रहन निर्देशन दिइन । ‘पुर्जा दिलाइदिन्छु भनेर पैसा लिएर तपाईंहरुलाई प्रभावित बनाउने समूह आउँछ,’ उनको भनाइ थियो, ‘यही बेला हो सम्पत्ति जोड्छु भन्ने लागेको छ भने मनबाट हटाइदिनुहोला ।’
आयोगका पदाधिकारी नै सर्वैसर्वा नभएको बताउँदै मन्त्री तुम्बाहाङ्फेले आफ्नो निश्चित अधिकारमात्रै रहेको मनन गर्न र ऐनले तोकेको कार्यमात्रै गर्न आग्रह गरेकी छिन् ।
सरकारले गत सातामात्रै ७७ वटै जिल्लामा अध्यक्षसहित विज्ञ सदस्य र सदस्य गरी तीन–तीन जना नियुक्त गरेको थियो । २३१ जना पदाधिकारीमा २५ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको छ । मन्त्री तुम्बाहाङ्फेले आयोग निर्माणमा सकभर महिलासहित जातीय क्लस्टर मिलाउने अधिकतम प्रयास गरिएको जानकारी दिइन ।

