

कृषकलाई अनुदानमा स्याउका बिरुवा,व्यावसायिक बन्न प्राेत्साहन

रुकुमपूर्व – रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरेको छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा १२ हजार स्याउका बिरुवा वितरण गरेको हो । स्याउ उत्पादन राम्रो हुने पुथाउत्तरगङ्गा गाउँपालिकामा कृषकले पनि आफ्नै लगानीमा बिरुवा लगाइरहेको छन् ।
कृषकलाई व्यावसायिक बन्न थप मद्दत मिलोस् भन्ने हेतुले अनुदानमा बिरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका–६ मा मात्रै छ हजार स्याउका बिरुवा वितरण गरेको छ । त्यहाँ एक स्थानीय तह एक उत्पादन कार्यक्रमसमेत लागू भएको छ । बाँकी छ हजार बिरुवा भने कृषकको मागका आधारमा वितरण गरेको गाउँपालिकाले जनाएको छ । उनीहरुलाई रेड, गोल्डेन र रोयल डेलिसियस जातको स्याउका बिरुवा वितरण गरिएको छ ।
यस्तै कृषककै मागका आधारमा गाउँपालिकाले इटालीबाट पनि स्याउका बिरुवा मगाएको छ । गाउँपालिकाले अनुदानमा स्याउका बिरुवा उपलब्ध गराएपछि खुशी भएका कृषक भने स्याउका बिरुवा सुकेर जाने हुन कि भन्ने पिरमा छन् । आकासेपानीको भरमा गरिने खेती प्रणालीमा लामो समयदेखि पानी नपरेपछि कृषक समस्यामा परेका छन् ।
सिँचाइ अभावमा आकाशबाट पानी नपर्दा नागरिकले यस्तो समस्या बारबार झेल्दै आएका छन् । आकाशबाट पानी नपर्दा यस वर्ष जिल्लाभरिकै कृषक समस्यामा परेका छन् । जिल्लाको माथिल्लो भेगमा गरिने स्याउखेतीसँगै जिल्लाभर नै लगाइएको गहुँबालीलाई ठूलो असर परेको छ । सिँचाइको अभावमा सधैँ समस्या झेल्दै आएका कृषक पानी नपरेपछि थप समस्यामा परेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुमपूर्वले जनाएको छ ।

