

केपी ओलीको असंवैधानिक कदममा आफूहरू तमासा हेरेर नबस्ने : नेपाल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदममा आफूहरू तमासे नबन्ने चेतावनी दिएका छन् । काठमाडौंमा शुक्रबार बिहान पत्रकारसँगको छलफलमा नेता नेपालले कानुन र विधिको शासन कायम राख्न राज्य कब्जामा लिने ओलीको कदमविरुद्ध सशक्त आन्दोलन गर्ने बताएका थिए ।
‘केपी ओलीले जे–जे गर्छन्, खुरु–खुरु मानेर तमासा हेरेर बस्ने वाला छैनौँ । यो सबै स्थितिको सिर्जना गर्ने कारक तत्त्व भनेको केपी ओलीजी नै हो । ओलीले पार्टीबाट सुरु गरेर राज्यलाई आफ्नो कब्जामा पार्ने कोशिस गर्न थालेका छन्,’ नेपालले भने, ‘यो पनि गरे र यो सिङ्गो देशको प्रजातन्त्रको घाँटी निमोठ्दै–निमोठ्दै गइरहेका छन् । त्यसैले यो नेकपाभित्रको मात्रै आन्तरिक मामिला होइन । देश, लोकतन्त्र, संविधान, विधि र कानुनी शासनको कुरा हो ।’

