

प्रचण्ड–नेपाल समूहको ‘अफवाह’बीच ओलीको अनपेक्षित भाषण

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले फैलाएको अफवाहरूलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गतिलो थप्पड दिएका छन्।
जुन संकेतका हिसाबमा प्रधानमन्त्री ओलीले भाषण वा घोषणामार्फत संघीयता खारेजीसम्मका कुरा गर्छन् भन्ने थियो, ति सबैलाई अनपेक्षित आशंकाका रुपमा प्रमाणित गरिदिए।
उनले उक्त समूहले ओलीको सभामा राजतन्त्रको घोषणा हुने भन्ने दुश्प्रचार भएको मात्र भनेनन्, संघीय लोकतान्त्रिक गणतन्त्र कुनै हालतमा तलमाथि नहुने घोषणा पनि गरे। उनले शुक्रबार भएको आम सभाका क्रममा भने,‘७० बर्षसम्म लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र तलमाथि हुनेछैन।’
ओलीको सभामा शंकास्पद नयाँ कुरा आउन सक्ने एउटा अन्तरवार्ताका दौरान प्रचण्डले पनि आशंका गरेका थिए। तर ओलीको तेजचाहिँ चुनावमा जसरी पनि जाने भन्नेमा नै रहेको थियो। अन्य मञ्चमा जस्तो आम सभामा ओलीले प्रचण्ड, माधवकुमार नेपाललगायतविरूद्ध कठोर टिप्पणी भने गरेनन्।
बरु, उनले भने,‘मलाई काम गर्न दिइएन, अस्थिरतामा खेल्ने उपक्रम सुरु भयो। अघिल्लो पटक चीनसँग पारवाहन सम्झौता गर्दा सरकार गिराइयो, यस पटक पनि त्यस्तै गर्न खोजेपछि चुनावमा ताजा जनादेशका लागि जाने निर्णय लिइएको हो।’
एक जना सहभागी भन्छन्,‘अनेक अडकलबाजी थिए। तर प्रधानमन्त्रीले त्यस्तो कुनै आशंका र हल्लाको विषयमा नबोली मुलुकलाई विकासको गतिमा कसरी लैजाने भन्ने सन्देश दिएर जानुभयो।’
ओलीले तीन बर्षका बीचमा आफूले गरेका सडक, पुल, झोलुंगे पुलका कामका विषयमा फेहरिस्त राखेका थिए। बरु शान्तिपूर्ण आन्दोलनको वकालत गरेका उनले सरकार प्रमुख हुनुका नाताले मांसाहारी वा नरभक्षी आन्दोलन गर्न नदिने उद्घोष गर्दै भने,‘शाकाहारी आन्दोलनले पुगेन भनेको के हो? चिकेन चिल्ली आन्दोलन भन्न खोजेको हो?’
बरु ओलीका तुलनामा गृहमन्त्री रामबहादुर थापाले कडा भाषण गरेका थिए। उनले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा हाल्नेसम्मको चेतावनी दिए। भाषणको सुरुआत र अन्त्य दुई पटक थापाले त्यस्तो चेतावनी दिएका थिए।

