

चिसोका कारण भारत र चीनका सेना तनावग्रस्त सीमा क्षेत्रबाट पछि हटे

नयाँ दिल्ली – भारत र चीनले पूर्वी लदाकको सीमामा रहेका सैनिकलाई विवादित क्षेत्रबाट केही पछि सारेका छन् । विवादित क्षेत्रको समस्या समाधान भएर होइन कि चर्को हिउँ र चिसो बढेका कारण दुवै मुलुकले आफ्ना सैनिकहरुलाई केही पछाडि सारेका हुन् । सीमा क्षेत्रमा भारत र चीन दुवैले एकअर्काप्रति कडा नजर राखेर बसेका छन् ।
भारतको रक्षा मन्त्रालय स्रोतलाई उदृत गर्दै सञ्चार माध्यमले जनाएअनुसार चीनले आफ्नो उच्च हिमाली सैन्य तालिम केन्द्रबाट १० हजार सैनिकलाई करिब १ सय ५० देखि २ सय किलोमिटर टाढा फिर्ता गरेको छ। अहिले त्यहाँको तापक्रम माइनस ३० डिग्री सेल्सियस पुगेको छ जसले गर्दा सेनालाई राख्न कठिन भएको हो।
पेङगोङ सो, छुसोल, दिपसाङ लगायतका क्षेत्र हिउँले ढपक्कै भएका छन्। भारतका सेना प्रमुख विपिन रावत र एयरफोर्स प्रमुख मार्कसल आर के एस भदोरिया सोमवार उक्त क्षेत्रमा पुगेका थिए। उनीहरुले भारतीय सीमामा प्रवेश गरेका चिनियाँ सैनिकलाई फिर्ता गराएका छन्।
भारत चीनबीचको सीमा तनावमा सैन्य कुटनीति जारी छ । ‘तनाव सकिएको अवस्था छैन। जुन क्षेत्रमा तनाव हो त्यहाँ दुवै पक्षका सेना पालैपालो खटाइनेक्रम जारी छ,’ सैनिक स्रोतले भन्यो, ‘चिसो अत्याधिक र भौगोलिक कठिनाइका कारण दुवै पक्षले बलियोसँग काम गर्न सक्दैन।’ भारत र चीनबीच सीमालाई लिएर ९ महिनादेखि तनाव जारी छ ।
भारत र चीन दुवैले कम्तिमा पनि ५० हजार सैनिक परिचालन गरेका छन्। गत वर्षको मे देखि गलवान भ्याली अशान्त रहँदै आएको छ। गत मे १५ मा भएको घम्साघम्सीमा परी २० भारतीय सैनिक र एक चिनियाँ सैनिकको मृत्यु समेत भएको छ । भारत र चीनबीच सीमाको विवादलाई लिएर कुनै सहमति हुन नसक्दा स्थिति तनावपूर्ण नै छ।

