उपनिर्वाचनको तयारीमा चितवन पुगेका लामिछाने भन्छन्, ‘सरकारमा जाने तयारी छैन’


चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् ।

लामिछानेले चितवनमा केही सञ्चारकर्मीसँगको कुराकानीका क्रममा अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको छ बताउँदै भने, ‘सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।’

लामिछानेले सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए । उनले थपे, ‘अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन ।’

रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए । आफ्नो दलको  राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको सभापति  लामिछानेले उल्लेख गरे । सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उनको भनाइ थियो ।

आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरु गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया