सन् २०३५ सम्ममा विश्वको आधा जनसंख्यालाई मोटापनको समस्या


काठमाडौं – विश्व मोटोपन महासंघले नियन्त्रणका लागि कुनै कदम नचालेमा सन् २०३५ सम्ममा विश्वको आधाभन्दा बढी जनसंख्या मोटो वा बढी तौलको वर्गमा पर्ने चेतावनी दिएको छ ।

खासगरी बालबालिकाहरुमा मोटोपनको समस्या बढ्दै गएकाले सन् २०३५ सम्म चार अर्ब भन्दा बढी मानिसहरू यसबट प्रभावित हुनेछन् । अफ्रिका र एसियाका न्यून वा मध्यम आय भएका देशहरूले यसमा सबैभन्दा ठूलो वृद्धि देख्ने अपेक्षा गरिएको छ । प्रतिवेदनले २०३५ सम्ममा मोटोपनको लागत वार्षिक ४ ट्रिलियन अमेरिकी डलर भन्दा बढी हुने अनुमान गरेको छ ।

महासंघका अध्यक्ष प्राध्यापक लुइस बाउरले यो प्रतिवेदनका नतिजाहरूले विभिन्न देशहरूलाई अहिले नै मोटोपन रोकथामका लागि कदम चाल्न वा भविष्यमा नतिजाको जोखिममा पर्न स्पष्ट चेतावनी दिएको बताएका छन् ।

प्रतिवेदनले विशेष गरी बालबालिका र किशोरकिशोरीहरूमा मोटोपनाको बढ्दो दरलाई हाइलाइट गरेको छ, जसमा केटा र केटीहरू दुवैमा २०२० को तुलनामा यो संख्या दोब्बर हुने अपेक्षा गरिएको छ । प्रोफेसर बाउरले यो प्रवृत्ति विशेष गरी चिन्ताजनक रहेको बताएका छन् ।

‘विश्वभरका सरकार र नीति निर्माताहरूले मोटोपनमा योगदानका प्रणाली र मूल कारकहरू मूल्याङ्कन गरेर युवा पुस्तालाई स्वास्थ्य, सामाजिक र आर्थिक लागतहरू हस्तान्तरण गर्नबाट बच्न सक्दो गर्न आवश्यक छ’, उनले भनेका छन् ।

प्रतिक्रिया