


रामसहायप्रसाद उपराष्ट्रपति, बारा–२ मा उपेन्द्र यादवको उम्मेदवारी !

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले उपराष्ट्रपतिमा बारा क्षेत्र नं. २ का सांसद रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने भएपछि उक्त क्षेत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादवले उक्त क्षेत्रबाट उपनिर्वाचन लड्ने तयारी गरेका छन्।
गत फागुन १२ गते ८ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने पनि सहमति भएको थियो।
पार्टीको भागमा परेको उपराष्ट्रपतिमा अध्यक्ष यादवले आफ्ना विश्वासपात्र समेत रहेका सांसद रामसहायप्रसादलाई उम्मेदवार बनाउने तयारी गर्दै आफू उक्त क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको जनाइएको छ ।
‘हाम्रो पार्टीबाट रामसहायजी उपराष्ट्रपति बन्ने पक्कापक्की भइसकेको छ। औपचारिक निर्णय गर्न मात्रै बाँकी हो,’ जसपाका एक कार्यकारिणी सदस्यले सेतोपाटीसँग भने, ‘रामसहायजी चुनाव जितेको क्षेत्रमा अध्यक्षले उपनिर्वाचन लड्नुहुन्छ ।’
रामसहायप्रसाद उपराष्ट्रपति उम्मेदवार हुँदै विजयी भएमा उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ। चैत ३ मा उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ।

