भारतीय स्थल सेनाका ५ पूर्वप्रमुख नेपाल आउँदै


काठमाडौं – भारतीय स्थल सेनाका ५ जना पूर्वप्रमुख एक साथ नेपाल आउने भएका छन् । नेपाली सेनाको विशेष निमन्त्रणमा पूर्वप्रमुखहरु शुक्रबार नेपाल आउन लागेका हुन्।

पूर्वसेनाप्रमुख विश्वनाथ शर्मा, जोगिन्द्र जसवान्त सिंह, दीपक कपुर र मनोज मुकुन्द नरवाणे नेपाल आउन लागेका हुन् । यी मध्ये ४ जना शुक्रबार नेपाल आइपुग्ने भएका छन् । एक जना पूर्वप्रमुख भने शनिबार विहान मात्रै नेपाल आइपुग्नेछन् ।

नेपाली सेनाले आफ्नो २६० औं स्थापना दिवशको अवसरमा भारतीय सेनाका स्थल सेनाका प्रमुख मनोज पाण्डेसहित ११ पूर्व प्रमुखहरुलाई पनि निमन्त्रणा गरेको थियो । तर ती मध्ये ५ जना नेपाल आउने निश्चित भएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

नेपाली सेनाले १० वर्षपछि विशेष कार्यक्रमकाबीच आफ्नो स्थापना दिवस मनाउन लागेको हो । यसअघि २५० औं स्थापना दिवश पनि विशेष कार्यक्रमकाबीच मनाएको थियो।

नेपाली सेना र भारतीय सेनाबीच एकअर्काका प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन छ। नेपाली सेनाका प्रमुखलाई पनि भारतमा मानार्थ महारथीको सम्मान दिइँदै आएको छ।

भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए। नेपाली सेनाले त्यतिबेला उनलाई पनि मानार्थ महारथीको सम्मान दिएको थियो।

प्रतिक्रिया