क्याबिनेट विस्तारको तयारीमा लुम्बिनी मुख्यमन्त्री गिरी, राष्ट्रियसभा उपनिर्वाचन लगत्तै मन्त्री थप्ने


रूपन्देही – राष्ट्रियसभाको उपनिर्वाचनलगत्तै लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले क्याविनेट विस्तार गर्ने गरी तयारी थालेका छन् ।

पुस २७ मा मुख्यमन्त्री बनेका गिरीले माघ ५ मा विश्वासको मत लिएका थिए । सुरूवातमै माओवादी र एमालेबाट एक–एक जना मन्त्री नियुक्त गरिएकोमा उनीहरू जिम्मेवारीविहीन छन् ।

लुम्बिनीमा भोलि राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदैछ । त्यसपछि मन्त्री थप्ने गरी मुख्यमन्त्रीले सत्ता साझेदार दलका नेतासँग छलफल गरेका छन् । यसबीचमा प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री गिरीबीच पनि भेटघाट भएको छ ।

सरकार विस्तार, सरकारको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा मुख्यमन्त्री गिरीले साझेदार दलसँग छलफल उनको सचिवालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्यासमेत घटाइएको छ । यहाँ मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् । यसअघि माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई मातृशोक परेका कारण सरकार विस्तार रोकिएको र राष्ट्रियसभा चुनावलगत्तै प्रक्रिया अघि बढ्ने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए ।

प्रतिक्रिया