मध्यरातसम्म टुंगिएन रास्वपा बैठक, निर्णायक बैठक आज पुनः बस्दै


काठमाडौं –  मध्यरातसम्म बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक कुनै निष्कर्षमा पुग्न सकेन ।

शनिबार राती १ बजेसम्म बसेको बैठक आज पुनः बसेर निर्णयमा पुग्ने सहमति भएको हो।

सभापति रवि लामिछानेले आवश्यक परेमा आइतबार संसदमा नगईकन बैठकमा सहभागी हुने बताएका छन्।

यसअघि शनिबार बसेको  बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भए पनि कुनै निर्णय गर्न नसकेको पार्टीका उपनेता विराजभक्त श्रेष्ठले बताए। उनले आज बिहान साढे ११ बजे बस्ने बैठकले सरकारमा सहभागिताबारेर आवश्यक निर्णय गर्ने बताए ।

‘बैठकमा विभिन्न तरिकाले छलफल भएको छ। हामी आज ११ बजे फेरि बस्छौं। हामीले भर्खर छलफलको सुरूआत गरेका छौं। आज संसदको कार्यसूची महत्वपूर्ण छैन। हाम्रो बैठक लम्बिन सक्छ। त्यस्तो अवस्थामा हामी संसद नगई बैठक गर्छौं,’ पार्टीका उपनेता विराजभक्त श्रेष्ठले भने।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहको सट्टा भौतिक मन्त्रालय लिन रास्वपाका सभापति रवि लामिछानेलाई प्रस्ताव राखेका छन्। उनले यो प्रस्तावबारे बैठकमा केही भनेनन्।

उनले बैठकमा ‘प्रधानमन्त्रीले हामी अस्तिको छलफलमा छौं, सहकार्य गरेर अगाडि जानुपर्छ भन्नुभएको छ’ भनेर सुनाएका थिए।

तर त्यस प्रस्तावका विषयमा अन्तिम निर्णय भने हुन नसकेपछि आजका लागि बैठक पुनः बस्ने गरी बोलाइएको जनाइएको छ ।

 

प्रतिक्रिया