


दोलखाको कटुवाचौर बजारमा भीषण आगलागी, ९ घर पूर्ण रुपमा नष्ट, क्षतिको विवरण संकलन गरिँदै

दोलखा – दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकाको कटुवाचौर बजारमा आगलागी ९ घर जलेर नष्ट भएको छ ।
बुधबारराति कालिन्चोक गाउँपालिका-९ कटुवाचौर बजारमा भीषण आगलागीमा परी ९ घर जलेर पुर्णरुपमा नष्ट भएको कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जनाए ।
आगलागीबाट बजारमा रहेको सन्तोष सेढाई, दुर्गा दाहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपिलाल थामी, राम बहादुर थामीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
रुद्र बहादुर ओलीको घरबाट आगलागी सुरु भएको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको आशङ्का गरिए पनि आगलागीको यकिन कारण खुल्न सकेको छैन । सदरमुकाम चरिकोटबाट खटिएको प्रहरी सशस्त्र, दमकल सहितको टोली आगो नियन्त्रण गर्न समेत पुगेको छ ।
स्थानीयका अनुसार आगलागीका कारण लाखौँको क्षति हुनुमा साथै पशु चौपाया पनि मरेका छन्। अहिले क्षतिको विवरण संकलन गरिरहेको जनाइएको छ ।

