राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने माओवादीको निर्णय


काठमाडौं – नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने भएको छ ।

आज (शुक्रबार) पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा राष्ट्रपति निर्वाचनमा दलहरूसँग राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय भएको हो ।

‘राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति चयन गर्न पहल गर्ने कुराकानी भएको छ,’ पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले भने ।, ‘दलहरूसँग छलफल गर्छौं, कहाँ राष्ट्रिय सहमति हुन्छ।’

राष्ट्रिय सहमति गर्दा नेकपा एमालेलाई धोका दिएको अर्थ नलाग्नेसमेत उनले दाबी गरेका थिए। सत्ता साझेदार दलभित्र राष्ट्रपति एमालेले लिने सहमति भएको दाबी थियो। स्थायी समिति बैठकमा पार्टी एकतासम्बन्धी प्रतिवेदन उपाध्यक्ष महराले पेश गरेका छन् भने संगठनसम्बन्धी प्रतिवेदन उपमहासचिव जनार्दन शर्मा र स्कुलिङसम्बन्धी प्रतिवेदन गिरिराजमणि पोखरेलले पेश गरेका छन्। फागुन २५ देखि २८ गतेभित्र राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।

स्थायी समिति बैठक माघ १६ गते बिहान ११ बजे पुनस् बस्ने महराले बताए । उनकाअनुसार बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलगायतसँग एकताका लागि वार्ता भइरहेकोबारे स्थायी समिति बैठकमा जानकारीसमेत गराइएको छ।

प्रतिक्रिया