

वैशाख १७ र २७ गते नै चुनाव हुन्छ, चुनाव १ दिन पनि पर सर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गतेमै चुनाव हुने दावी गर्दै तयारी थाल्न आग्रह गरेका छन् । चुनाव कुनै पनि हालतमा पर नसर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । महोत्तरीको ढल्केवरमा नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका थिए ।
वैशाखको चुनाव पछि मुलुक नयाँ शिराबाट अगाडि बढ्ने ओलीले बताए । ‘यस क्षेत्रमा वैशाख १७ गतेमै चुनाव हुन्छ । तपाईंहरू तयारी गर्नुस्, चुनाव १ दिन पनि पर सर्दैन,’ ओलीले भने, ‘कोही चुनाव नगराउन भनेर निर्वाचन आयोग जान्छन्, निर्वाचन आयोगको काम नै चुनाव गराउने हो, आयोगले चुनाव गराउँछ । हामी नयाँ शिराबाट देश बनाउँछौं ।’
ओलीले केही सय जनाले पार्टी छाड्दा फरक नपर्ने बताए । ‘२–४ जना नेता जाँदा पार्टीमा संकट आउँछ ? ३ करोड जनता छन् । पार्टी छाडेर कस्ता गए ? देश बनाउने खालका गए, देशभक्ति भएका, जनतालाई सुख दिने खालका गए र ?’ पार्टी छाडेकाप्रति ओलीले टिप्पणी गरे ।
‘दोस्रो पटक किड्नी फेर्दा म बाँच्दिनँ भन्ने आशमा साथीहरुले प्रार्थना गर्नुभयो’
प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक किड्नी फेर्दा आफू नबाँच्ने आशमा साथीहरूले प्रार्थना गरेको आरोप लगाएका छन्।
‘मेरा साथीहरूलाई अलिअलि आश थियो – दोस्रो पटक किड्नी फेरेपछि त बाँच्दै बाँच्दैन। अझ नेपालमा किड्नी फेर्यो भने त बाँच्दै बाँच्दैन। कहाँ सुन्नुभयो उहाँहरुले। आश लिएर प्रार्थना गर्नुभयो। अल्लाह, भगवान सबै सम्झिनुभयो’, उनले भने, ‘नेपालमै किड्नी फेर्ने मुर्ख हो। जान्छ, राम्रै हुन्छ। साथीहरुले त्यस्तो सोच्नुभयो।’
ओलीले आफूले १० दिनपछि अस्पतालबाट फर्किएर काममा सहभागी भएपछि ती साथीहरु छक्क परेको बताए। ‘अब यसो विचार गर्नुभयो। यो मान्छे मर्छ भनेर पर्खिएर पार लाग्ने रहेनछ भनेर बाटो लाग्नुभयो। ए नजाऊ, नजाऊ भन्दैछु। तर जानुभयो’, नेपाल विद्युत प्राधिकरणको ढल्केबर प्रसारण केन्द्रको उद्घाटन कार्यक्रममा ओलीले भने।

