

आज नेप्सेमा भारी गिरावट, सेयर बजारमा हलचल

काठमाडौं – साताको पहिलो दिन आज सेयर बजारमा उच्च अंकले गिरावट आयो । सेयर बजार परिसूचक नेप्से ५४.७५ अंकले घटेर २३७०.५५ विन्दुमा आइपुग्यो । आइतबार कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से उच्च अंकले ओरालाे लागेकाे हो ।
जीवन बिमा समूह सबैभन्दा उच्च ४६० अंकले घट्याे । यस्तै, निर्जीवन बिमा समूह पनि २६४ अंकले झर्दा लघुवित्त र उत्पादनमूलक समूह सय अंक बढीले घटे । वाणिज्य बैंक समूह ४२ अंकले घट्दा विकास बैंक समूह ५१ अंक बढीले घट्यो भने वित्त समूहमा पनि ५० अंकको गिरावट आयो ।
यसैगरी, टेलिकम सूचीकृत अन्य समूह पनि साढे २५ अंकले ओर्लियो । आइतबार २ सय ६ कम्पनीको एक करोड ६२ लाख कित्ता सेयर आठ अर्ब ९७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
यसदिन १ सय ६१ कम्पनीको सेयर भाउ घट्यो । १० कम्पनीका सेयरधनीले कमाउँदा चारवटा कम्पनीको सेयर भाउ भने स्थिर रह्यो । आज पनि प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले बढ्यो भने सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य पनि करिब ९ प्रतिशतले बढ्यो ।
कारोबार भने नेपाल लाइफ इन्स्यारेन्सको नै सबैभन्दा बढी भयो । यो कम्पनीको मात्रै ४३ करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

