
ट्रमाका पूर्वनिर्देशक डा. पौडेलविरुद्ध अनियमितताको उजुरी
काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरका पूर्वनिर्देशक डा. सन्तोष पौडेलविरुद्ध अनियमितता गरेको आरोपमा उजुरी परेको छ ।
पूर्वनिर्देशक डा.पौडेलले एमएस अर्थोपेडिक अध्ययन गर्ने क्रममा तत्कालिन उपकुलपतिसंग मिलि सेवा अवधि नपुगिकनै अध्ययन गरेको र ट्रमा सेन्टरको निर्देशक रहँदा कर्मचारी नियुक्तिमा आर्थिक लेनदेन गरी नियुक्ति गरेको भन्दै उजुरी परेको हो ।
उजुरीमा पौडेलले सिआर्म खरिद, डेक्सा मेसिन, एचडी माइक्रोस्कोप, एम्बुलेन्स तथा क्यान्टिन टेण्डर गर्दा करोडौँ रुपैयाँ अनियमितता गरेको भन्दै २०७७ ÷११÷०२ मा प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत उजुरी परेको थियो । उक्त उजुरीपछि २०७७ ÷११÷१३ मा स्वास्थ्य मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति पनि गठन गरेको थियो ।
उक्त समितिले उल्लेखित विषयहरुमा अनियमितता देखिएको भन्दै माथिल्लो निकायबाट छानविन हुनुपर्ने राय दिएको थियो । सो पत्र अख्तियारमा समेत पठाएको थियो । तर हालसम्म उनीविरुद्ध कुनै कारबाही नभएपछि कर्मचारीहरुले यही पुस २२ गते पुनः प्रधानमन्त्री कार्यालय, अख्तियार, सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय र सम्पत्ति सुद्धिकरण विभागमा छानविन तथा कारबाहीको लागि निवेदन पेश गरेका छन् ।



कागजपत्र |
